प्रचण्ड रास्वपालाई साथ लिएर सरकार ढाल्न हिंडेका छन्ः रघुवीर महासेठ

काठमाण्डु टुडे २०८२ असार २२ गते १२:४५ मा प्रकाशित

जनकपुर, २२ असार–एमाले सचिव रघुवीर महासेठले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वर्तमान सत्ता गठबन्धन तोड्न लागि परेको आरोप लगाएका छन् ।

आइतबार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै वर्तमान सत्ता गठबन्धन तोड्न राष्ट्रियसँगै अन्तर्राष्ट्रिय शक्तिहरू लागिरहेको र त्यसको नेतृत्व प्रचण्डले गरेको आरोप लगाएका हुन् ।

‘राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा यो गठबन्धन तोड्नलाई प्रयास भइरहेको छ । जसको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालज्युले गरिरहनुभएको छ। उहाँलाई यसमा सहयोग गर्ने धेरै स्वतन्त्र पार्टीहरु पनि छन् । स्वतन्त्र सांसदहरु पनि छन् । राष्ट्रिय स्वतन्त्र पार्टी पनि छन्,’ उनले भने ।

वर्तमान सत्ता गठबन्धन मन नपराउने सत्ता घटककै केही सांसदहरु पनि यसमा लागेको उनले बताए।

‘गठबन्धन घटककै केही मान्यजीहरु पनि हुनुहुन्छ । जो यो सरकार बनेदेखि नै यो गठबन्धनको विरोधमा उहाँहरु क्रियाकलाप गरिरहनुभएको छ । मधेस प्रदेशका केही समानुपातिक सांसदहरु यो गठबन्धन बनेको दिनदेखि नै विदेशी शक्तिको आडमा यो गठबन्धनको विरोध गरिरहेको छ,’ उनले भने ।

तर पनि अहिलेसम्म वर्तमान गठबन्धन सरकार प्रतिकुल अवस्थामा नपुगेको उनले बताए ।

‘किनभने अहिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजी र नेकपा एमालेका अध्यक्ष केपी ओलीको बीचमा जुन एउटा तालमेल बनाएर दुई जनाको सोचअनुसार यो सरकार अघि बढिरहेको छ,’ उनले भने ।

सचिव महासेठले देशमा अहिलेको भन्दा कुनैपनि गठबन्धनको विकल्प नरहेको बताए ।

—न्युज एजेन्सी नेपाल

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us