
काठमाण्डु, २४ फागुन– कांग्रेस सभापति शेरबहादुर देउवाले महिलामाथि हुने विभेद र हिंसाविरुद्ध नारी जागरण आजको आवश्यकता भएको बताएका छन् ।
एक सय १३ औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले दिवस मनाइरहेको सन्दर्भमा नेपाल अहिले पनि महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको बताए ।
‘सहरदेखि दूरदराजका गाउँमा महिला आज पनि शोषण, दमन र उत्पीडनबाट आक्रान्त छन्। महिलामाथि हुने विभेद र हिंसाविरुद्ध नारी जागरण आजको आवश्यकता हो’, उनले भने ।
हिंसा लोकतन्त्र र जनताको सम्प्रभुतामाथिको सबैभन्दा ठूलो खतरा भएको उल्लेख गर्दै सभापति देउवाले हिंसा मुलुकको आर्थिक प्रगतिको सबैभन्दा ठूलो बाधकसमेत भएको र सामाजिक एकता तथा सद्भावलाई कमजोर बनाउने कारण पनि भएको उल्लेख गरेका छन् ।
कांग्रेस सबै किसिमका हिंसाको अन्त्य चाहन्छ भन्दै उनले महिलाविरुद्ध हुने सबैखाले हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरुक गराउन दिवसले सहयोग पुर्याउने बताए ।
सभापति देउवाले नेपालमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका हरेक आन्दोलनमा अग्रणी स्थानमा उभिएर कैयन महिला दिदीबहिनीले आफ्नो प्राणको आहुति गरेको उल्लेख गर्दै उनीहरुप्रति सम्मान प्रकट गरेका छन्।
आगामी दिनमा पनि स्थापित लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण र सम्बद्र्धनका लागि महिला दिदी बहिनीको अझ महत्वपूर्ण र निर्णायक भूमिका रहने विश्वास लिँदै उनले दिवसका अवसरमा सम्पूर्ण महिला दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् ।