फेरि धोका खान एमालेलाई राष्ट्रपति दिने कुरा हुँदैनः गुरुङ

काठमाण्डु टुडे २०७९ फागुन ८ गते ८:०६ मा प्रकाशित

काठमाण्डु, ८ फागुन– नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले एमालेले अघि सारेका व्यक्तिलाई राष्ट्रपतिमा समर्थन गर्न नसकिने बताएका छन् ।

उनले राष्ट्रपति दलभन्दा माथि उठेको स्वतन्त्र व्यक्ति हुनुपर्ने उल्लेख गरे । ‘दलले खडा गरेको होइन, संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध साझा व्यक्ति राष्ट्रपति हुनुपर्छ भन्ने हाम्रो अन्तिम बटमलाइन हो’, गुरुङले काठमाण्डुटुडेसँग भने, ‘एमाले वा काँग्रेस जसले अघि सारेको भए पनि दलीय राजनीतिभित्रको व्यक्तिलाई हाम्रो समर्थन हुन सक्दैन ।’ गुरुङले यसअघि दलका नेतालाई राष्ट्रपति बनाएर आफूहरुले धोका खाएकाले यसपटक गल्ती नदोहोरिने उल्लेख गरे ।

गुरुङले दलगत स्वार्थ र फाइदाका लागि राष्ट्रपतिमा दलीय उम्मेदवार खडा गर्ने तयारी भएकाले आफूहरुले लोकतन्त्र र संविधान बचाउन तथा सम्भावित राजनीतिक अस्थिरता रोक्न त्यस्ता व्यक्तिलाई समर्थन गर्न नसक्ने स्पष्ट गरे ।

‘संविधानले पनि दलभन्दा माथि उठेको र स्वतन्त्र भूमिका निर्वाह गर्ने राष्ट्रप्रमुखको परिकल्पना गरेको छ’, उनले भने, संविधानको रक्षा, सुशासन, आर्थिक समृद्धि, राष्ट्रिय स्वाधिनता र राजनीतिक स्थिरताका लागि दलबाहिरको व्यक्ति राष्ट्रपति हुनुपर्छ ।’

फरक प्रसंगमा उनले आफूहरुले भनेजस्तो दलभन्दा माथि उठेको र स्वतन्त्र राष्ट्रिय व्यक्तित्वलाई काँग्रेसले अघि सारे सहकार्य हुन सक्ने सम्भावना नकार्न नसकिने स्पष्ट गरे । गएराति मात्र राष्ट्रपति निर्वाचनमा सहकार्य गर्नेबारे काँग्रेस र माओवादी केन्द्रका प्रमुख नेताहरुबीच बालुवाटारमा वार्ता भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us