रिहा भएपछि सांसद चौधरी भन्छन्– मसँग प्रतिशोध साँधियो

काठमाण्डु टुडे २०७९ फागुन ७ गते ११:४४ मा प्रकाशित

काठमाण्डु,७ फागुन– राष्ट्रपतिको आममाफीबाट कारागारमुक्त भएका नागरिक उन्मुक्ति पार्टी नेता एवं सांसद अरुण कुमार चौधरीले आफूमाथि राजनीतिक प्रतिशोध साधिएको आरोप लगाएका छन् ।

कैलाली कारागारबाट आज बिहान रिहा भएपछि पत्रकारहरुसँग कुरा गर्दै चौधरीले यस्तो बताएका हुन । उनले आफूमाथि प्रतिशोध साधिएको आरोप लगाएका हुन् ।

उनले १८ दिनको कारागार बसाइँले धेरै कुरा सिकाएको बताएका छन । उनले भने, ‘आज जुन हिसाबले म भित्र आएँ, त्यो त एउटा राजनीतिक प्रतिशोधको हिसाबले भित्र आएको हो जस्तो लागिरहेको छ ।’

उनले अगाडि भने, ‘यो सानो पार्टी छ, जसरी उठिराछ, त्यसरी नै खुम्चाइदिउँ भन्ने जुन परिपाटी देखियो त्यो नेपालको राजनीतिमा त्यति राम्रो देखिएको छैन ।’

०६६ भदौ ३ गते बन्दको अवज्ञा गरेको भन्दै ट्याक्टर जलाएको आरोपमा ०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जनामाथि ६ महिना कैद र ८ लाख १९ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो ।

तर उनीहरु फरार भएका थिए । उनी ४ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा कैलाली–२ बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

उनी गत माघ १९ गते बाँकेबाट पक्राउ परेका थिए । तर जिल्ला अदालतको फैसलाबारे आफूले जानकारी नपाएको र सफाइ पेस गर्ने मौका पनि नपाएको उनले बताएका छन । ‘म तीनचोटी चुनाव लडिसक्या छु ।

२०७४ को कानुनमा पनि लेखिसक्या छ । म त्यतिखेर पनि आफ्नो सफाइको लागि पेश गर्न सक्थें, उच्च अदालतमा पनि जान सक्थें । मैले त्यतिखेर मौकै पाएन ।

जानकारी नभएपछि मौका कसरी पाउन ?’ उनले भने । मेरो नाम फरार सूचीमा छ कि छैन भनेर सोध्दा जिल्ला प्रहरी कार्यालयले पनि छैन भनेको चौधरीले बताएका छन ।

उनले आममाफी दिएकामा राष्ट्रपति कार्यालय, नेपाल सरकार र गृह मन्त्रालयलाई धन्यवाद पनि दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us