वाम एकता आजको वस्तुगत आवश्यकता हो: झलनाथ खनाल

काठमाण्डु टुडे २०७९ फागुन ४ गते १७:१८ मा प्रकाशित

काठमाण्डु,४ फागुन– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रपतिको चयन राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन ।

भारतमा आयोजित कम्युनिस्ट पार्टीको ११ औँ महाधिवेशनमा सहभागी हुन पटना जाने क्रममा सिमरा आइपुगेका नेता खनालले पत्रकारसँग कुराकानी गर्दै यस्तो बताएका हुन ।

उनले संविधानले परिकल्पना गरेको जसरी नेतृत्व गर्न सक्ने, संविधानको परिपालना गर्न सक्ने, संविधानको रक्षा गर्न सक्ने, मुलुकलाई अभिभावकत्व दिन सक्ने व्यक्तिलाई नै राष्ट्रपतिमा चयन गर्नुपर्ने बताएका छन ।

उनले भने, ‘राष्ट्रिय एकतालाई प्रवर्धन गर्न सक्ने, राष्ट्रिय सेनाको परमाधिपतिको रूपमा भूमिका निर्वाह गर्न सक्ने व्यक्तित्वलाई नेपाली जनताले राष्ट्रपतिको रूपमा पाओस् भन्ने हाम्रो शुभकामना छ’ पूर्व प्रधानमन्त्री तथा नेकपा एसका वरिष्ठ नेता खनालले भने– ‘हामी १० सिटमा मात्रै भएकोले यसमा ठुला दलहरूले नै बुद्धि पूर्याउनुपर्छ, सकेसम्म राष्ट्रिय सहमति बनाएर जानुपर्छ भन्ने धारणा हो, अब एक हप्ताभित्रै निर्णय हुनेवाला नै छ ।’

नेता खनालले साझा विषयमा वाम एकता आजको वस्तुगत आवश्यकता भएको बताएका छन । ‘ठुला पार्टीहरूले बेवास्ता गरेका कारण वाम एकता हुन सकेको छैन, तर आजको वस्तुगत आवश्यकताले वाम एकताको माग गरिरहेको छ’ नेता खनालले भने ।

उनले वर्तमान गठबन्धनको सरकारलाई खिचडीको संज्ञा दिँदै देश राजनीतिक सङ्कटको भुमरीमा धकेलिएको कुरा समेत औँल्याए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us