
काठमाण्डु,२३ माघ– उच्च अदालत पोखराले अभिनेता पल शाहविरुद्धको बाल यौन दुराचारको मुद्दामा दुबै पक्षलाई झिकाउने आदेश दिएको छ ।
नाबालिकालाई बालयौन दुराचार गरेको अभियोगमा जिल्ला अदालत नवलपरासी पूर्वले पल शाहलाई साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको थियो ।
उक्त फैसलाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय र पल शाह दुबै पक्षले उच्च अदालत पोखरामा पुनरावेदन गरेका थिए । सोमबार उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राजभण्डारीको संयुक्त इजलासले झगडिया झिकाउने आदेश दिएको पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले बताएका छन ।
अब १५ दिनभित्र पल शाहलाई उच्च अदालत कास्कीमा उपस्थित गराउनुपर्नेछ ।
एक नाबालिग गायिकामाथि बलात्कार गरेको आरोपमा अभिनेता शाहमाथि जिल्ला अदालत तनहुँ र जिल्ला अदालत नवलपरासीमा मुद्दा परेको थियो ।