
दाङ,१६ माघ– ठगी मुद्दामा कैद भुक्तान गरिरहेकी दाङ तुलसीपुरकी ३० वर्षिया एक महिला कारागारभित्रै बलात्कृत भएको खुलासा भएको छ ।
दाङको तुलसीपुर कारागार कार्यालयमा कैद भुक्तान गरिरहेकी पीडित महिला बलात्कृत भएको खुलासा भएको छ । कार्तिक १७ गते दिउँसो २ बजे उक्त घटना भएपनि गुपचुप राखिएको उक्त घटना सोमबार मात्रै बाहिर आएको हो ।
कारागार कार्यालयको भान्सा कोठामा महिला बलात्कृत भएको प्रहरीले बताएको छ । जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका तुलसीपुर उपमहानगरपालिका–६ डुम्म्रीगाउँका २८ वर्षीय खुमबहादुर चौधरीले उनीमाथि बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी पर्वत केसीका अनुसार पीडित महिला र पीडक चौधरी कारागार कार्यालय तुलसीपुरको चौकिदार रहेका थिए ।
कारागार भित्रको आन्तरिक व्यवस्थापनको जिम्मेवारी समेत उक्त पीडित महिला र पीडक चौधरीले समाल्दै आइरहेकाले पीडकले पीडित भान्सा कोठामा पसेको मौका छोपेर बलात्कार गरेको उनले बताएका छन ।
घटनालगत्तै पीडितले कारागार कार्यालय तुुलसीपुरमार्फत इलाका प्रहरी कार्यालय तुुलसीपुरमा जाहेरी दिएकी थिइन् । पीडितको जाहेरीका आधारमा घटनाको अनुसन्धान गरी गत कार्तिक २८ गते नै सहकारी वकिल कार्यालयमा मार्फत जिल्ला अदालत दाङमा घटना बुुझाएको केसीले बताएका छन ।
उक्त घटना हाल दाङ देउखुरी जिल्ला अदालत दाङमा विचाराधिन अवस्थामा रहेको छ ।