
काठमाण्डु,१६ माघ– प्रहरीले कपिलवस्तुबाट चन्दा आतंक मच्चाएको आरोपमा चारजना पक्राउ गरेको छ । नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक विक्रान्तसहित ४ जनालाई कपिलवस्तुबाट पक्राउ गरेको प्रहरीले बताएको छ ।
पक्राउ पर्नेमा नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक विक्रान्त भन्ने जग्गु तेली, कपिलवस्तु जिल्ला इन्चार्ज विपिन विक, बृजेश गिरी र सुग्रिम रैदास रहेका छन । प्रहरीले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी उनीहरूलाई सार्वजनिक गरेको हो ।
गत कात्तिकमा कपिलवस्तुमा २ वटा ट्रक र एउटा मोटरसाइकल जलाएको तथा विभिन्न व्यक्तिसँग धम्कीपूर्ण रुपमा चन्दा उठाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुकी प्रहरी निरीक्षक शैलेश्वरी बोहराले बताइन् ।
उनीहरुमाथि गत २२ कात्तिकमा २ वटा ट्रक र एउटा मोटरसाइकलमा श्रृङ्खलावद्ध आगजनी गरेको आरोप छ । ती गाडी जलाएका तीनवटै घटनास्थलमा नेपाल जनतान्त्रिक मुक्ति मोर्चाको संयोजक विक्रान्तबाट जारी गरेको निर्वाचन बहिष्कार, नेपाल बन्दलगायतका विभिन्न ७ बुँदे मागसहितको पर्चाहरू प्रहरीले फेला पारेको थियो ।
त्यस्तै उनीहरुले गत पुसको १६, १७ र १८ गते कृष्णनगर नगरपालिका–९ बहादुरगञ्जका ३४ वर्षका वुद्धकुमार अग्रहरिलाई फोन गरेर २५ लाख रुपैयाँ चन्दा मागेका थिए ।
चन्दा नदिए भौतिक आक्रमण गर्ने चेतावनी दिएका थिए । २६ पुर र २ माघमा कृष्णनगर नगरपालिका–८ मौजा गणेशपुरका ४४ वर्षका ओमकार चौधरीलाई फोन गरेर १० लाख रुपैयाँ चन्दा मागेका प्रहरीले जानकारी दिएको छ ।
माघको २ देखि १३ गतेसम्म शिवराज नगरपालिका–७ बालानगर बस्ने पुजारीप्रसाद चौधरीलाई फोन गरेर ५ लाख रुपैयाँ चन्दा मागेका थिए ।
मागेको चन्दामध्ये १ लाख लिँदै गर्दा १३ माघमा बिरु भन्ने बृजेश गिरी र सुग्रिम रैदास १ लाख रुपैयाँसहित पक्राउ परेका थिए ।