अहिले कांग्रेस न सत्ता पक्ष न प्रतिपक्ष जस्तो देखिएको छ: पोखरेल

काठमाण्डु टुडे २०७९ माघ १६ गते १३:३४ मा प्रकाशित

काठमाण्डु,१६ माघ– एमाले महासचिव शंकर पोखरेलले राष्ट्रपति निर्वाचनको विषयलाई लिएर नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको व्यवहार नकारात्मक नभएको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । उनले प्रधानमन्त्रीको भूमिकामा शंका गर्ने ठाउँ नरहेको समेत बताएका हुन् ।

‘राष्ट्रिय सहमति खोज्नुको अर्थ प्रतिपक्षलाई दिनु भन्ने होइन,’ उनले भने, ‘प्रधानमन्त्रीले पनि सत्ता गठबन्धन भित्रबाट नै राष्ट्रपति होस् भन्ने चाहनुभएको छ ।’ राष्ट्रपतिमा एमालेको उम्मेदवार हार्छ भन्ने कल्पना गर्नै नसकिने उनले बताएका छन ।

संघदेखि प्रदेशसम्म नै गठबन्धनको सरकार रहेकाले सत्ता गठबन्धनको उम्मेदवारले राष्ट्रपति हुने उनले बताएका छन । काँग्रेसले सत्ता बाहिर रहँदा अस्थिरता ल्याउनका लागेको पनि उनले बताएका छन ।

पोखरेलले राष्ट्रपतिमा नेपाली कांग्रेसले दाबी गर्न नै नमिल्ने पनि बताए । ‘अहिले कांग्रेस न सत्ता पक्ष न प्रतिपक्ष जस्तो देखिएको छ,’ उनले भने, ‘दिशाहीन अवस्थाको जस्तो देखिएकाले पहिला उ सच्चिनुपर्छ ।’

रवि लामिछानेलाई गृहमन्त्री बनाउन बालकोटले दबाब दिइरहेको छ नि भन्ने पत्रकारको प्रश्नमा महासचिव पोख्रेलले अहिले दबाब नदिएको बताएका छन् ।

गृहमन्त्री कसलाई बनाउने भन्ने विषयमा सत्ता गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीबीच हुने सहमतिले मात्रै टुङ्गिने उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us