संघीय लोकतान्त्रिक गणतन्त्र शहीदहरूको त्याग र बलिदानबाटै सम्भव भएको हो: प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु टुडे २०७९ माघ १६ गते १२:१४ मा प्रकाशित

काठमाण्डु,१६ माघ– नेकपा (माआोवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र शहीदहरूको त्याग र बलिदानबाटै सम्भव भएको बताएका छन ।

आज (सोमबार) शहीद दिवसको अवसरमा काठमाण्डुको लेनचौरस्थित शहीद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

उनले शहीदहरुले जीवित मानिसलाई निरन्तर प्रेरणा दिइरहने बताएका छन । उनले देशको र जनताको निम्ति, प्रगति र समृद्धिको आफ्नो प्राण दिने शहीदहरु अमर र अजर रहने पनि बताएका छन ।

प्रचण्डले राष्ट्र, जनताको प्रगति र सेवामा समर्पित हुनको लागि शहीदहरु प्रेरणाको स्रोत भएको बताए । उनले माघ १६ गतेलाई फगत स्मरण र औपचारिक समारोहमा मात्रै सीमित नभई शहीदहरूको सपना, राष्ट्रको प्रतिष्ठा, जनताको प्रगतिका लागि सबै एक हुनुपर्ने बताएका छन ।

आजको दिन शहीदहरुको सम्मानका लागि सबैले देश विकासका लागि संकल्प गर्नुपर्ने बताए । ‘हामी संघीय लोकतान्त्रिक गणतन्त्रको जुन रुपमा अभ्यास गरिरहेका छौं ।

यसको पछाडि महान शहीदहरुको त्याग र बलिदान नै प्रमुख रहेको छ,’ उनले भने । प्रचण्डले शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शहीदहरुको शालिकमा माल्यार्पण समेत गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us