
काठमाण्डु,१६ माघ– पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले शहीदले देखेको सपना राजनीतिक स्वतन्त्रता मात्र नभई समृद्धि पनि भएको बताएका छन ।
आज सोमबार शहीद दिवसको अवसरमा शुभकामना दिंदै ओलीले अहिले त्यही समृद्धिको अभियानमा लागि परेको पनि बताएका छन ।
ओलीले जारी गरेको सन्देशमा भनिएको छ, ‘यतिबेला हामी शहीदहरुको बलिदानी स्वरुप प्राप्त लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरी नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने अभियानमा छौं’ ।
सबल लोकतन्त्र, सुदृढ अर्थतन्त्र, सुशासन र सामाजिक न्यायको व्यावहारिक कार्यान्वयनमार्फत मुलुकमा नवनिर्माणको शृङ्खला अघि बढाएर मात्रै शहीदले देखाएको मार्ग अनुसरण गर्न सकिने उनले बताएका छन ।
उनले अकर्मण्य, कर्तव्यहीन, उद्देश्यहीन र गन्तव्यहीन प्रवृत्तिबाट देशलाई मुक्त गर्दै पुनः सुशासन र समृद्धितर्फको यात्रामा केन्द्रित गर्नेतर्फ एमाले लागेको पनि उनले बताएका छन ।