
काठमाण्डु, १६ माघ– श्रीमती र नाबालक छोरालाई आगोले जलाएर भाग्दै गरेका पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
बाँकेको कोहलपुर नगरपालिका–२ का ३० वर्षीय भानुभक्त विकले श्रीमती गंगा र छोरा प्रिन्समाथि पेट्रोल खन्याएर शरीरमा आगो लगाएका थिए । प्रिन्सको उपचारका क्रममा मृत्यु भइसकेको छ भने गंगाको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले घटनापछि फरार रहेका विकलाई प्रहरीले पक्राउ गरिएको जानकारी दिए । भारततर्फ भाग्ने प्रयासमा रहेका विकलाई प्रहरीले जमुनाहा नाका नजिकबाट पक्राउ गरेको हो ।
विकलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा राखेर घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।