
काठमाण्डु,१५ माघ– सर्वोच्चको आदेशपछि नागरिकता लिने प्रक्रिया पुरा गर्नुपर्ने भएका रवि लामिछाने आइतबार जिल्ला प्रशासन कार्यालय काठमाण्डु जाने भएका छन ।
शुक्रबार सर्वोच्च अदालतको संवैधानिक आदेशले रविको नागरिकता अवैध भएको ठहर गर्दै नागरिकता लिने प्रक्रिया पुरा गर्न आदेश दिएको थियो ।
सोही अनुसार लामिछाने आइतबार प्रशासन जाने कार्यक्रम तय भएको उनका स्वकीय सचिव प्रकाश सिग्देलले बताएका छन ।
लामिछानेले प्रशासन जानका लागि आवश्यक डकुमेन्ट तयार गरिसकेका छन् । जसअनुसार उनले अमेरिकी नागरिकता त्यागेको पुष्टि हुने निस्सासहितका फाइल तयार गरिरहेको बताइएको छ ।
लामिछालेले नागरिकता लिनका लागि गृह मन्त्रालयसँग समेत परामर्श गरेका थिए । गृहले नियमित प्रक्रियाबाट नागरिकता लिन सकिने बताएपछि उनी सोहीबमोजिम प्रशासन जान लागेका हुन् ।
सर्वोच्चको फैसलामा उनले नागरिकता लिन प्रक्रिया पुरा गर्नुपर्ने मात्रै भनेकाले सोहीअनुसार सामान्य प्रक्रियाबाट नागरिकता लिने तय भएको हो ।
अमेरिकी नागरिकता त्यागेको कुरा सत्य भएपनि त्यसपछि उनले पुरानो नागरिकता आफूखुसी प्रयोग गरेको पुष्टि भएको थियो । त्यही नागरिकता उनले प्रक्रिया पुरा गरेर ब्युताउन लागेका हुन् ।
लामिछानेले २०५० साल फागुन १० गते जिल्ला प्रशासन कार्यालय, काठमाण्डुबाट नेपाली नागरिकता प्राप्त गरेका थिए । कामको सिलसिलामा अमेरिकामा पुगेका लामिछानेले २०१४ को फेब्रुअरी २१ मा अमेरिकाको नागरिकता प्राप्त गरेका थिए ।
अमेरिकाको नागरिकता प्राप्त गरेपनि सोको जानकारी नेपाल सरकार वा सम्बन्धित साधिकार जिल्ला प्रशासन कार्यालयलाई गरेका थिएनन ।
लामिछानेले २०७५ जेठ ४ गते अमेरिकी दूतावासमा नेपाली नागरिकता त्यागका लागि निवेदन दिएका थिए । त्यसको करिब ४० दिनपछि उनको नागरिकता रद्द भएको भन्दै अमेरिकी दूतावासले पठाएको पत्र फेसबुकमा राख्दै आफूले नागरिकता त्याग गरेको बताएका थिए ।
उनले नागरिकता अवैध ठहर भएपछि मन्त्री, सांसद र पार्टीको सभापति पद गुमाएका थिए ।