
काठमाण्डु ,१३ माघ- पाठ्यपुस्तकको अभाव कम गर्न भन्दै आगामी शैक्षिक सत्र २०८० का लागि पाठ्यपुस्तक छपाइको जिम्मा निजीलाई दिने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको चर्को विरोध भयको छ।
नेकपा एकीकृत समाजवादीको विद्यार्थी सङ्गठन अनेरास्ववियूले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालको पुत्ला जलाएको छ । निजीलाई पोसेको, गरिब विद्यार्थीको खिलाफमा रहेको आरोप लगाउँदै अनेरास्ववियुले पुत्ला जलाएको हो ।
उनीहरूले प्रदर्शनी मार्गस्थित रत्नराज्य क्याम्पस अगाडि शिक्षामन्त्री खनालको पुत्ला जलाएका हुन्। जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडलाई डुबाएर पुस्तक छपाइको जिम्मा निजीलाई दिएको अनेरास्ववियुको आरोप छ। जनक शिक्षा सामाग्री केन्द्र मास्नेका विरुद्ध एकजुट भएर लड्नुपर्ने उनीहरूको भनाइ छ।
शिक्षा मन्त्रालयले पाठ्यपुस्तकको अभाव कम गर्न भन्दै आगामी शैक्षिक सत्र २०८० का लागि कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक छपाइको जिम्मा निजीलाई दिने निर्णय गरेको थियो ।