
काठमाण्डु,८ माघ– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली भएको बताएका छन् ।
२८५९ औं तामाङ ल्होसारको उपलक्ष्यमा काठमाण्डुको टुँडिखेलमा आयोजित सोनाम ल्होसार समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
उनले भने,‘नेपाल पूर्व, पश्चिम, उत्तर, दक्षिणका प्रमुख सभ्यताहरूको संगमस्थल हो। यहाँ १२५ जातजाति, १२३ भाषाभाषी र १० भन्दा बढी धर्म मान्ने समुदाय बसोबास गर्दछन्’ , ‘‘यहाँ बसोबास गर्ने सबै जातिरजातजातिको आ–आफ्नो भिन्न–भिन्न परम्परा, रीतिरिवाज र संस्कृतिहरू रहेका छन्।
यी सबै संस्कृतिहरूको समग्रता र एकीकृत स्वरुप नै नेपालको राष्ट्रिय संस्कृति हो। यसरी हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक हुनु नै नेपाल र नेपालीको लागि गौरवको कुरा हो, यो हाम्रो राष्ट्रिय सम्पत्तिसमेत हो।’
प्रचण्डले नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होछार परम्परा र तामाङ संस्कृति भएको भन्दै ल्होछार परम्परा विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा रहेको बताएका छन ।