आठ जिल्लाका तरकारी राजधानी ल्याउन रोकिने

काठमाण्डु टुडे २०७१ साउन २ गते १:४० मा प्रकाशित

काठमाण्डु, २ साउन – आठ जिल्लाका उत्पादित तरकारीमा अत्याधिक विषादी भेटिएपछि सरकारले त्यहाँ  उत्पादित  तरकारी राजधानी ल्याउन प्रतिबन्ध लगाउने भएको छ । भारतबाट आलु आयातमा पनि प्रतिबन्ध लगाउने सरकारको तयारी रहेको छ ।

सरकारले गत असार ४ गतेदेखि ३२ सम्म नियमित परीषण गर्दा बारा, चितवन, मकवानपुर, पर्सा, धादिङ, भक्तपुर, काठमाडौं र काभ्रे जिल्लामा उत्पादित तरकारीमा विषादीको मात्रा ९० भन्दा माथि पाइएपछि सरकारले प्रतिबन्ध लगाउने तयारी गरेको हो । आजको नागरिक दैनिकले समाचार छापेको छ ।

‘ती जिल्लामा उत्पादित तरकारीमा विषादी निषेधदर ९० भन्दा माथि छ, कृषि विकास मन्त्रालयका सचिव जयमुकुन्द खनालले भने, ‘यसले स्वास्थ्यमा नकरात्मक असार पार्ने भएपछि रोक लगाउन खोजिएको हो ।’ उनका अनुसार चितवनको केरा, बारा र भारतमा उत्पादित आलु, धादिङको अकबरे खुर्सानी, पर्साको खुर्सानी, काभ्रेको आलु तथा खुर्सानी, लौका, बोडी, पालुंगो काउलीलगायत तरकारी राजधानी ल्याउन रोक लगाउने तयारी भइरहेको छ ।

मन्त्रालयले सम्बन्धित जिल्ला कृषि विकास कार्यालयलाई त्यहाँ उत्पादित तरकारी जिल्लाबाहिर पठाउन पनि रोक लगाउन निर्देशन दिइसकेको छ । तीन महिनाभित्र उत्पादन मा विषादी मात्र घटाए प्रतिबन्ध फुकुवा गर्न सकिने मन्त्रालयको भनाई छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us