
काठमाण्डु,२७ पुस– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदैमा सत्तापक्षको नहुने बताएका छन ।
आज पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले विश्वासको मत दिने पार्टी सत्तारुढ हुने कहाँको व्यवस्था हो आफूले बुझ्न नसकेको टिप्पणी गरेका छन ।
उनले २०५१ सालमा पनि नेकपा एमालेको सरकारलाई कांग्रेसले विश्वासको मत दिएर प्रतिपक्षमा बसेको बताएका छन । उनले भने, ‘कसैकसैले चर्चा गर्ने गरेका छन । विश्वासको मत दिएपछि सत्ताधारी पार्टी हुन पुग्दछ । यो कहाँको ब्याख्या हो मैले बुझ्न सकिन । हाम्रो देशको सन्दर्भमा भन्ने हो भने २०५१ सालमा जतिखेर हाम्रो पार्टी सरकारमा थियो ।
त्यो सरकारको म आफै उपप्रधानमन्त्री थिए । रक्षामन्त्री र परराष्ट्रमन्त्री थिए । र, अहिलेका एमालेका नेता आफैं गृहमन्त्री हुनुहुन्थ्यो ।
त्यो अल्पमतको सरकारलाई नेपाली काँग्रेसले के गरेको थियो भन्ने कुरालाई स्मरण गर्नु पर्दैन ’उनले अघि भने, ‘विश्वासको मत दिएपनि नेपाली काँग्रेस प्रतिपक्षमा नै बसेको थियो ।
हाम्रो विगतको अनुभव छैन ? अनि के यो नयाँ संविधानले त्यो ब्याख्यालाई गलत हो भन्ने कुरा अगाडि सारेको छ ?’ । अध्यक्ष नेपालले आफूहरुले प्रधानमन्त्री प्रचण्डलाई शंकाको लाभ दिएको बताएका छन ।
उनले प्रधानमन्त्रीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले जस्तो ‘अहंकार’ प्रदर्शन नगर्न पनि आग्रह गरेका छन ।