
काठमाण्डु,२६ पुस– कांग्रेसले कार्य सम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेस संसदीय दलको बैठक कार्य सम्पादन समितिको बैठक पछि मात्रै बस्ने भएको छ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा एक मत नभएपछि कांग्रेसले कार्य सम्पादन समितिमा पनि छलफल गर्न लागेको हो ।
बिहान साढे ११ बजे कार्य सम्पादन समितिको बैठक बस्ने र त्यसको निर्णय अनुसार संसदीय दलको बैठकबाट विश्वासको मतबारे औपचारिक निर्णय लिने कांग्रेसका एक नेताले जानकारी दिएका छन ।
विश्वासको मतबारे आज बिहान कांग्रेस पदाधिकारीको बैठकमा पनि छलफल भएको छ । पदाधिकारी बैठक लम्बिएपछि संसदीय दलको बैठक पनि पछि धकेलिएको थियो । कांग्रेसको निर्णयलाई कुर्दै प्रतिनिधि सभाको बैठक पनि १ बजेसम्मलाई सारिएको छ ।