
काठमाण्डू, ३ जेठ- कांग्रेस सांसद् पूर्णबहादुर तामाङले आगामी आर्थिक वर्ष ०८२\०८३ को बजेटमा आफूहरूले मागको बजेट नपाए अर्थमन्त्री विष्णु पौडेलले चर्को मूल्य चुकाउनुपर्ने बताएका छन् ।
नयाँबानेश्वरस्थित ल्होत्से हलमा शनिबार बसेको काँग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै तामाङले संसदमा हंगामा गर्ने बताए ।
आफूहरुले मागेका आयोजनामा बजेट विनियोजन नभए संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुको सूची बनाएर छानविनका लागि समिति बनाउन बाध्य हुने चेतावनी उनको छ ।
‘आजको बैठकमा हामीले सात वटा जिल्लामा तीन तीन करोड गरेर २१ करोड माननीयहरूलाई दिने भनेर आफ्नो दलमा बुझाएका छौं । यदि अर्थमन्त्रीज्यूले कटाउने काम गर्नुभयो भने कांग्रेसका माननीय, एमालेका माननीय र माओवादीलगायतका सांसदहरूको लिष्टसहित समिति बनाउनुपर्ने हुन्छ,’ तामाङले भने, ‘हाम्रो पार्टी सभापति इमान्दार हुनुहुन्छ । उहाँ इमान्दार नहुनुभएको भए प्रधानमन्त्री केपी ओली घरमै बसिरहनुहुन्थ्यो ।’