प्रतिनिधिसभाको पहिलो बैठक बस्दै, १२ जना शीर्ष नेताले सम्बोधन गर्ने

काठमाण्डु टुडे २०७९ पुष २५ गते ८:५३ मा प्रकाशित

काठमाण्डु, २५ पुस– प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दैछ ।

बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सोमबार दिउँसो १ बजेका लागि तय भएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आजका लागि संसद बैठक आह्वान गरेकी हुन् ।

ज्येष्ठ सदस्यका हैसियतमा राप्रपाका पशुपतिशमशेर जबराले बैठकको सञ्चालन गर्नेछन् । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ । ४ मंसिरमा सम्पन्न निर्वाचनबाट प्रतिनिधिसभामा १२ दलले प्रतिनिधित्व गरेका छन् । १२ दलका २ सय ७५ सांसद् छन् ।

प्रतिनिधिसभालाई प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव, जनमत पार्टी अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी, नेपाल मदजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे लगायतले सम्बोधन गर्नेछन् ।

यस्तै बैठकको अध्यक्षता गरेका राणाले सोमबार प्रधानमन्त्रीले विश्वासको मत लिनेबारे संसद सदस्यहरुलाई जानकारी गराउने छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us