
काठमाण्डु,२४ पुस– प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मत कार्कीले चार दलको समर्थनमा मुख्यमन्त्री दावी पेस गरेका छन् ।
कार्कीले संविधानको धारा १६८ को उपधारा २ बमोजिम ६० जना प्रदेशसभा सदस्यको समर्थनसहित प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष दाबी पेश गरेका हुन् ।
प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको समय आज बेलुका ५ बजेबाट सकिँदैछ । समय सकिन भन्दा एक घण्टा अगाडि उनी मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । नेकपा एमालेको ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ गरी सत्तारुढ दलसँग ६० जना सांसद छन् ।
प्रतिपक्षमा रहेको नेपाली कांग्रेसको २९ र नेकपा एकीकृत समाजवादीको ४ सिट रहेको छ ।