
काठमाण्डु,२२ पुस– कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस कसैलाई प्रधानमन्त्रीको अफर नगरेको बताएका छन ।
आज (शुक्रबार) पार्टी सभापति शेरबहादुर देउवालाई भेटेपछि सञ्चारकर्मीसँगको संक्षिप्त प्रतिक्रियामा महामन्त्री शर्माले यस्तो बताएका हुन ।
उनले भने, ‘नेपाली कांग्रेस तत्काल नजाने गाउँको बाटो सोधिरहेको छैन र कसैलाई अघि लाग है भनेर पनि भनिरहेको छैन ।’ उनले कांग्रेसले कसैलाई प्रधानमन्त्रीमा अफर गरेको चर्चा भ्रम मात्रै रहेको बताएका छन ।
‘नेपाली कांग्रेस अहिले यस्तो कुरामा विलकुलै संलग्न छैन,’ उनले भने, ‘नेपाली कांग्रेस अहिले कसैलाई अगाडि लगाएर हामी भर्खरै बाहिरिएको अवस्थामा जिम्मेवार र भूमिकामा रहन छाडेर हामीबाट संस्थागत रूपमा कहीँ पनि त्यस्तो भइरहेको छैन ।’
उनले पार्टीको नेतृत्वले सावधानी अपनाउन नसक्दा राजनीतिक दुर्घटना भएको भन्दै उनले अन्तिम समयमा महामन्त्रीहरूको पनि पर्याप्त हस्तक्षेप नपुगेको स्वीकार गरेका छन ।
‘अन्तिम समयमा हाम्रो तर्फबाट पर्याप्त हस्तक्षेप हुनसकेन भनेर हामी पनि आत्मालोचित हौंला,’ उनले भने, ‘तर पनि दुर्घटना नभएर सेफ ल्याण्डिङ भयो, पाइलटको प्रसंशा हुन्छ, दुर्घटना भइहाल्यो भने कोपाइलटलाई दोष लगाउन थालियो भने त्यो पनि राम्रो हुँदैन ।’