कार दुर्घटनामा परी भारतका स्टार क्रिकेटर ऋषभ पन्त गम्भीर घाइते

काठमाण्डु टुडे २०७९ पुष १५ गते १२:२६ मा प्रकाशित

एजेन्सी– कार दुर्घटनामा परी भारतका स्टार क्रिकेटर ऋषभ पन्त गम्भीर घाइते भएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार पन्त सवार कार शुक्रबार उत्तराखण्डको रुर्कीमा डिभाइडरमा ठोक्किंदा दुर्घटनाग्रस्त भएको हो ।

२५ वर्षीय क्रिकेटर पन्त शुक्रबार बिहान ५।३० बजे रुर्की नजिकै दुर्घटनामा परेका भारतीय सञ्चार माध्यमले जनाएका छन ।

दुर्घटनामा परी गम्भीर घाइते बनेका उनको रुडकी सिभिल अस्पतालमा प्रारम्भिक उपचारपछि देहरादुनको म्याक्स अस्पतालमा सारिएको छ ।

पन्त कारबाट उत्तराखण्डस्थित आफ्नो घर जाँदै थिए । रुर्कीको नरसन सीमामा हमादपुर झालको मोडमा उनको मर्सिडीजले नियन्त्रण गुमाएर रेलिङमा ठोक्किएपछि कारमा आगो लागेको र पल्टिएको प्रहरीलाई उद्धृत गर्दै भास्करले खबर जनाएको छ ।

उत्तराखण्डका प्रहरी अधिकारीहरूले कार चलाउँदा पन्त निदाएकाले उनको कारले नियन्त्रण गुमाएको जानकारी दिएका छन् ।

दुर्घटना हुँदा पन्त गाडीमा एक्लै थिए । दुर्घटनापछि पन्त जलिरहेको कारको झ्याल फुटाएर बाहिर निस्केका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us