सरकारमा छौं, तर काँग्रेसभित्र उकुसमुकुस र छटपटाहट छः गगन थापा

काठमाण्डु टुडे २०८२ जेठ ५ गते १८:४३ मा प्रकाशित

काठमाण्डू, ५ जेठ– कांग्रेस महामन्त्री गगन थापाले काँग्रेस संघ, प्रदेश र स्थानीय तह सबैतिरका सरकारमा भएर पनि कतै नभएजस्तो अवस्था आएको बताए ।

बीपी कोइरालाको जीवनकथामा आधारित पुस्तक ‘सान्दाजु’ को लोकापर्ण कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै उनले निर्वाचनबाट ठूलो पार्टीका रुपमा स्थापित भएको काँग्रेसले बनाएको प्रधानमन्त्रीको नेतृत्वका सरकार रहेको र भावी प्रधानमन्त्री पनि काँग्रेसबाटै हुने अवस्थामा समेत सन्तुष्ट हुने अवस्था नरहेको बताए ।

‘यो पटकको घटनाले हामीलाई के देखाइदिएको छ भने चुनाव जितेका छौं । नेपालको ठूलो पार्टी हौं हामी । हामी सबैतिर सरकारमा छौं । नभएको ठाउँ नै छैन । अहिले बनाएको प्रधानमन्त्री र हुनेवाला प्रधानमन्त्री पनि हाम्रो,’ उनले भने, सबै हाम्रो । गभर्नर हाम्रो, ऊ हाम्रो, त्यो हाम्रो । जताततै हाम्रो । यस्तो बेलामा खुसी हुनुपर्ने हो नि कांग्रेस । सबै हाम्रो भएको बेलामा किन खुसी नभएको त ? यसले के देखायो भने हामीले खोजेको यो होइन ।’

थापाले पार्टीभित्र उकुसमुकुस, गुनासो, असन्तुष्टि र छटपटाहट रहेको बताए । यद्यपि त्यस्तो अवस्थाबीच पनि पार्टीमा अवसर रहेको उनको भनाइ छ ।

‘नेपाली कांग्रेस पार्टीभित्र अहिले एउटा खालको उकुसमुकुस छ, गुनासो छ, असन्तुष्टि छ, एउटा छटपटाहट देखिन्छ’, ‘ भने, ‘यसभित्रै एउटा अवसर पनि छ भनेर म भनिरहेको छु ।’

आफूले लामो समयदेखि पार्टीभित्रको समस्या टेक्निकल र ब्युरोक्रेटिक भएको बताउने गरे पनि पछिल्लो समय फरक अनुभव भएको उनको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us