राजनीतिक बन्दीहरुलाई रिहाई गर्नको लागि सरकारले ल्याएको अध्यादेश खारेज हुनुपर्छः ज्ञानेन्द्र शाही

काठमाण्डु टुडे २०७९ मंसिर २७ गते १५:४० मा प्रकाशित

काठमाण्डु,२७ मंसिर– राप्रपाका प्रवक्ता एवम् जुम्लाबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर शाहीले राजनीतिक बन्दीहरुलाई रिहाई गर्नको लागि सरकारले ल्याएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीबाट अविलम्ब फिर्ता हुनुपर्ने बताएका छन ।

उनले वर्तमान सरकार कामचलाउ सरकार भएकोले गलत मनसायका साथ राजनीतिक आवरणमा जघन्य अपराधमा संलग्नहरुलाई उन्मुक्ति दिने उद्देश्यले अध्यादेश ल्याउने अनैतिक र आपत्तिजनक भएको पनि बताएका छन । आज मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन ।

उनले राष्ट्रपति कार्यालय पुगेको उक्त अध्यादेश राष्ट्रपतिबाट फिर्ता हुनुपर्ने बताएका हुन् । उनले भने , ४ मंसिरमा भएको निर्वाचनमा जनताबाट ताजा जनादेश आइसकेको र केही दिनभित्र संसद बैठक सुरु हुने वर्तमान पृष्ठभूमिमा अहिलेको कामचलाऊ सरकारले गलत मनसायका साथ राजनीतिक आवरणमा जघन्य अपराधमा संलग्नहरुलाई उन्मुक्ति दिने उद्देश्यले अध्यादेश ल्याउनु अनैतिक र आपत्तिजनक विषय मात्रै नभएर स्वार्थपूर्ण र सत्ता केन्द्रित राजनीतिको फोहोरी खेलको सुरुवात हो ।’

उनले सरकार बनाउनकै लागि जे पनि गर्नु गलत हुने भन्दै अहिले आएको अध्यादेश देशको हितमा नभएको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us