
काठमाण्डु,२५ मंसिर– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीको बन्द सूचीको विवरण सच्याउनका लागि दलहरुलाई समय दिएको छ ।
आयोगले त्रुटी गरेर समानुपातिक उम्मेदवारहरूको नाम पठाउने राजनीतिक दलहरुलाई त्रुटी सच्याएर पुनः विवरण पठाउनका लागि भोलि ९सोमबार० दिउँसो ४ बजेसम्मका लागि समय दिएको छ ।
यस सम्बन्धमा जानकारी दिँदै निर्वाचन आयोगको समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतका प्रवक्ता गुरुप्रसाद वाग्लेले प्रतिनिधि सभा अन्तर्गत दलहरूले बुझाएको समानुपातिक उम्मेदवारहरूको विवरणमा सच्याउनुपर्ने अवस्था नभएको बताएका छन ।
उनले राजनीतिक दलहरूले प्रदेश सभाका लागि पठाएको समानुपातिक उम्मेदवारको विवरणमा भने त्रुटी देखिएकाले सो विवरण सच्याएर आयोगमा पठाउनका लागि राजनीतिक दलहरुलाई पत्राचार गरिएको बताएका छन ।
आयोगले दलहरूबाट त्रुटी सच्याएको विवरण प्राप्त गरेपछि उम्मेदवारहरूलाई निर्वाचित घोषणा गर्ने र प्रमाणपत्र वितरण हुने उनले बताएका छन ।
‘आज हामीले छानबिन गर्दा केही केही राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत नमिलेको देखियो । त्यो विषयमा आज हामी राजनीतिक दलहरुलाई पत्राचार गर्छौ र नमिलेको विवरण भोलि सोमबार ४ बजेसम्म राजनीतिक दलहरूले त्यो विवरण सच्याएर आयोगमा पेस गर्नुपर्छ ।
अनि आयोगले त्यसरी पेस भएको नामावलीहरुलाई निर्वाचित हुनेगरी निर्णय गर्छ । प्रतिनिधिसभातर्फ पेस भएको बन्दसूचीको विवरणमा कुनै पनि सच्याउनुपर्ने अवस्था छैन ।
सबै दलले पेस गरेको विवरण ठीक छ । प्रदेश सभा तर्फ केही–केही राजनीतिक दलले पेस गरेको विवरणमा अल्पसंख्यक दुई जना सिफारिस गर्नुपर्नेमा एकजना सिफारिस गरिएको देखिएको छ, उनले भने ।’