
काठमाण्डु,२५ मंसिर– हेटौंडाको मुख्य बजारक्षेत्रमा रहेको तरकारी बजार हेटौंडा उपमहानगरपालिका–१ स्थित राप्ती उकासको जमिनमा सारन लागीएको छ ।
आउँदो बुधबार तरकारी बजारका सबै स्टल नयाँ स्थानमा सारिने नेपाल फलफुल तथा तरकारी व्यापारी संघका अध्यक्ष खड्गबहादुर मुक्तानले बताएका छन ।
तरकारी बजार स्थानान्तरणको लागि राप्ती उकासमा करिब २ विघा क्षेत्रमा १०६ वटा स्टल निर्माण गरिएको छ । जसमध्ये ७३ वटा होलसेल र ३३ वटा खुद्रा स्टल छन् ।
नेपाल फलफुल तथा तरकारी व्यापारी संघमा आबद्ध व्यवसायी र हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा तरकारी बजार निर्माण गरिएको हो ।
बजारको पूर्वाधार निर्माण गर्न संघमा आबद्ध १०६ जना व्यवसायीले प्रतिव्यवसायी २ लाख ५० हजार रुपैयाँका दरले रकम संकलन गरेका थिए भने उपमहानगरपालिकाले ३३ लाख ३६ हजार ६ सय रुपैयाँ सहयोग उपलब्ध गराएको थियो ।
राप्ती उकासमा रहेको तरकारी बजारको आइतबार बिहान उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले उद्घाटन गरेकी छन । अहिले तरकारी बजार रहेको टीसीएन क्षेत्रमा उपमहानगरपालिकाले बस टर्मिनल निर्माण गर्न लागेको उनले बताएकी छन ।