मदन भण्डारी हत्या छानबिन समितिका संयोजक अनिलको निधन

काठमाण्डु टुडे २०७९ मंसिर २१ गते ९:१२ मा प्रकाशित

काठमाण्डु, २१ मंसिर–तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रितको रहस्यमय निधन भएको दासढुंगा घटना छानबिनका लागि गठित आयोगका संयोजक सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रचण्डराज अनिलको निधन भएको छ ।

२०५० साल जेठ ३ गते पोखराबाट पूर्वी चितवनको ज्यामिरेमा आयोजित कार्यक्रममा सहभागी हुन जाँदै गर्दा भण्डारी र आश्रित सवार जिप दासढुंगाबाट त्रिशूलीमा खसेको थियो ।

९२ वर्षीय अनिलको बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचारका क्रममा निधन भएको हो । अनिल लामो समयदेखि उच्च मुटु, रक्तचाप र मधेमेहका बिरामी थिए । जिल्ला न्यायाधीशबाट न्याय सेवामा प्रवेश गरेका उनले उच्च अदालत हुँदै सर्वोच्चको अतिरिक्त न्यायाधीशबाट अवकाश लिएका थिए ।

अनिलले अवकाशपछि न्यायपरिषदको सदस्यका रुपमा समेत काम गरेका थिए ।

अनिलका छोरा डा. अरुण मास्केले बुधबार अन्तिम संस्कार गरिने बताए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us