
काठमाण्डु, २१ मंसिर– प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनमा सामेल हुन जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई आग्रह गरेका छन् ।
उक्त कुराको पुष्टि अध्यक्ष यादवले गरे । उनले निर्वाचनपछि आफू र प्रधानमन्त्री देउवाबीच टेलिफोन वार्ता भएको बताए । यद्यपि आफूले सत्तारुढ र विपक्षी गठबन्धन वा दुवैभन्दा बाहिर तटस्थ बस्ने भन्नेबारे देउवालाई केही नबताएको यादवको भनाइ थियो ।
‘चुनावपछि मेरो प्रधानमन्त्रीसँग टेलिफोनमा कुराकानी भएको थियो’, यादवले भने, ‘तर, कुन गठबन्धनमा रहने भन्नेबारे हामी निर्णयमा पुगिसकेका छैनौं ।’ यादवले आइतबार विराटनगरमा चुनावसँगै एमालेसँगको गठबन्धनको उपादेयता सकिएको बताएका थिए । तर, एमाले समर्थनमा सुनसरीबाट प्रतिनिधिसभामा निर्वाचित समाजवादीका वरिष्ठ उपाध्यक्ष अशोक राईले अध्यक्ष यादवको भनाइ आधिकारिक नभई व्यक्तिगत भएको टिप्पणी गरेका छन् ।
सोमबार मतदातालाई धन्यवाद दिन धरानमा आयोजित कार्यक्रममा राईले एमालेसँगको सहकार्य बाँकी नै रहेको बताए । एमाले अध्यक्ष केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसलाई प्रतिगमन भन्दै सत्तारुढ गठबन्धनमा सामेल भएको जसपा सिट बाँडफाँटको भागबण्डामा असन्तुष्ट हुँदै निर्वाचनको मुखैमा एमालेसँग गठबन्धन गरी निर्वाचनमा सहभागी भएको थियो ।
तर, अध्यक्ष यादव स्वयं सप्तरी–२ बाट जनमत पार्टीका अध्यक्ष सिके राउतसँग फराकिलो मतान्तरले पराजित भए ।