
काठमाण्डु,२० मंसिर– शुक्रबारदेखि काठमाण्डुबासीका घरको धारामा मेलम्चीको पानी आउने भएको छ । मेलम्चीको पानी २६ किलोमिटर सुरुङ पार गरेर आज काठमाण्डुको सुन्दरीजलमा आइपुगेसँगै प्रशोधन गरेर शुक्रबारदेखि वितरण प्रणालीमा छोड्न लागिएको मेलम्ची खानेपानी विकास समितिका बताएको छ ।
मेलम्ची नदीबाट सुरुङमा पानी छाडेको झन्डै एक सातापछि आइतबार सुन्दरीजलमा पानी आइपुगेको थियो । सुरुङ पूर्ण रुपमा नभरिएका कारण ३ दिन सुन्दरीजलको गेट थुनेर सुरुङमा पूर्णरुपमा पानी भर्ने काम भइरहेको छ ।
‘मेलम्चीको पानी सुन्दरीजल ल्याइसकेका मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले बताएका छन । उनले भने, अहिले काठमाण्डु तर्फ गेट बन्द गरेर सुरुङमा पानी भर्ने काम भइरहेको छ ।
३ दिनभित्रमा यो काम सकेर पानी प्रशोधन गरी शुक्रबारबाट काठमाण्डुको वितरण प्रणालीमा पानी छोड्दैछौँ । शुक्रबार हामीले वितरण प्रणालीमा पानी छोडेको २ घण्टाभित्र सबै उपभोक्ताको घरमा खानेपानी पुग्नेछ ।’
काठमाण्डुबासीलाई मेलम्चीको पानी खुवाउने विषयलाई उच्च प्राथमिकता राखेर दिनरात नभनी काम गरेको परिणामस्वरूप काठमाण्डु पानी आइपुगेको उनले बताएका छन ।