
काठमाण्डु, २९ भदौ– साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्से ४७.४४ अंकले वृद्धि भएको छ ।
करिब साढे २ प्रतिशतले वृद्धि हुँदा बुधबार नेप्से १९८१.४८ अंकमा पुगेको छ । गत साताबाट लगातार ओरालो लागेर १९०० को बिन्दुनजिक पुगेको नेप्सेमा सुमार आएपछि लगानीकर्ता उत्साहित भएका छन् । कारोबार रकममा पनि मंगलबारको तुलनामा सुधार भएको छ । अधिकांश सूचकमा हरियाली छाउँदा वित्त कम्पनी र व्यापार उपसूचक सर्वाधिक ६ प्रतिशतले बढेको छ ।
४६ लाख १८ हजार ५ सय १६ कित्ता सेयर किनबचे हुँदा १ अर्ब ४५ करोड ३८ लाख २५ हजारको कारोबार भएको छ । नबिल बैंकको सर्वाधिक ६ करोड ५१ लाख ६९ हजारको कारोबार भयो ।
बुधबार नेप्सेमा कुल १८९ कम्पनीको सेयर किनबेच भएकोमा १८४ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । त्यस्तै ५ कम्पनीको सेयर मूल्य घटेको छ । ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा बन्द हुँदा लिवर्टी इनर्जी कम्पनीको सेयर मूल्य ८।३२ प्रतिशत र युनाइटेड मोदी हाइड्रोपावरको सेयर मूल्य ७.८१ प्रतिशतले बढेको छ ।