
काठमाण्डू, १४ भदौ– पछिल्लो छ महिनामा खाडी मुलुकमा मात्र ५३ हजार ५४ नेपाली भिजिट भिसामा गएका छन् ।
संयुक्त अरब इमिरेट्स (यूएई) लगायत खाडी मुलुकमा भिजिट भिसामा गएका तीमध्ये अधिकांश फर्किएका छैनन् ।
अध्यागमन विभागको तथ्याङ्कअनुसार गत फागुन २७ देखि भदौ १० गतेसम्म सबैभन्दा बढी दुबईमा ३९ हजार ६३० जना भिजिट भिसामा गएका छन् ।
यसैगरी कतार एक हजार ३ सय ८६ जना, साउदी अरब एक हजार ८१, ओमन ७ सय ९६, कुवेत ५ सय २८र बहराइन ३ सय ४ जना भिजिट भिसा गएकामध्ये अधिकांश फिर्ता भएका छैनन् ।
आकर्षक रोजगारीको प्रलोभनमा विभिन्न गिरोहले भिजिट भिसामा युवतीलाई खाडी मुलुक पुर्याई अलपत्र तथा बन्धक बनाएको पाइएपछि मानव बेचबिखनमा पर्ने गरेपछि नेपाल सरकारले भिजिट भिसामा रोक लगाएको थियो ।
पछिल्लो समय भिजिट भिसामा दुबई जान लागेका १ सय १४ जना युवती र १ सय ३ जना युवका कागजपत्र नक्कली पाइएपछि प्रहरीले विमानस्थलबाट फिर्ता गरेको थियो ।
यस घटनाले फेरि खाडी मुलुकमा भिजिट भिसाको आवरणमा मानव तस्करी भएको आशङ्का गरिएको छ । गोरखापत्र दैनिकबाट