सात नेताले छाडे विवेकशील साझा पार्टी

काठमाण्डु टुडे २०७९ भदौ १३ गते ७:०७ मा प्रकाशित

काठमाण्डु, १३ भदौ– विवेकशील साझा पार्टीलाई संस्थापक सदस्य विराजभक्त श्रेष्ठलगायत सात केन्द्रीय सदस्यले त्याग गरेका छन् ।

अन्य ६ केन्द्रीय सदस्यहरू जमुना शर्मा, राज्यलक्ष्मी श्रेष्ठ, रोशनी अधिकारी, सस्मित पोखरेल, श्रीकृष्ण श्रेष्ठ र सुदन मानन्धर रहेका छन् । पार्टीबाट राजीनामा दिए पनि अहिले आफूहरुले अन्य कुनै दलमा सहभागी हुने निर्णय लिनसकेको वागमती प्रदेशका सांसदसमेत रहेका विराजभक्त श्रेष्ठले बताए ।

विवेकशील साझा त्यागेपछि अहिले आफू स्वतन्त्र रहेको उनको भनाइ छ । उनीहरूले हिजो ललितपुरको बखुण्डोलस्थित केन्द्रीय पार्टी कार्यालयमा दर्ता गराएको राजीनामा पत्रमा अपेक्षाअनुसार विवेकशील साझाले काम गर्न नसकेका कारण राजीनामा दिएको जनाइएको छ ।

राजीनामा पत्रको व्यहोरा छ, ‘पद्धति, पारदर्शिता, इमानदारी, उत्कृष्टताजस्ता मूल्य र मान्यताका साथ सुसंस्कृत राजनीति र समतामूलक समृद्धिलाई संस्थागत गर्न मूलधारे राजनीतिक दलहरूलाई चुनौती दिंदै विवेकशील साझा पार्टीको स्थापना भएको थियो ।

दुःखका साथ भन्नुपर्दा विवेकशील साझा पार्टीमा न त आफ्नै मूल्य र मान्यता पालना भएको पाइएको छ, न त सुसंस्कृत सहभागितामूलक राजनीति र समतामूलक समृद्धिलाई संस्थागत गर्ने प्रयास गरेको पाइएको छ ।’ गोरखापत्र दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us