
काठमाण्डु, ११ भदौ– विपक्षी एमालेले भागबन्डा नमिले सत्ता गठबन्धन कुनै पनि बेला भत्किने र नयाँ गठबन्धन बन्ने निष्कर्ष निकालेको छ ।
अध्यक्ष केपी ओलीद्वारा केन्द्रीय कमिटीमा शुक्रबार प्रस्तुत राजनीतिक प्रतिवेदनमा सैद्धान्तिक धरालतबिना बनेकाले गठबन्धन भत्किने अनुमान गरिएको छ ।
‘भागबन्डा नमिल्नासाथ भोलि कुनै पनि बेला गठबन्धन भत्किने, नयाँ गठबन्धनको प्रयास हुने र राजनीतिमा फोहोरी र विकृति अभ्यासको पुनरावृत्ति हुने स्पष्ट छ,’ ओलीको प्रतिवेदनमा छ ।
केन्द्रीय कमिटीले ९ समूह बनाएर छलफल अघि बढाइएको उक्त प्रतिवेदनमा पुँजीवाद र समाजवादका पक्षधर शक्तिबीच धुव्रीकरण हुनुपर्ने आवश्यकता औंल्याएको छ ।
‘राजनीतिक ध्रुवीकरणको प्रक्रियालाई तीव्रता दिँदै अन्य पार्टीबाट सक्दो पार्टी प्रवेश गराउने नीति लिने’, प्रतिवेदनमा भनिएको छ, ‘खास गरी निर्वाचन क्षेत्रको शक्ति सन्तुलनका आधारमा प्रतिस्पर्धाको अवस्था रहेको ठाउँमा जित सुनिश्चित गर्न र हामी अगाडि रहेको ठाउँमा जितलाई कायम गर्न पार्टी प्रवेशलाई ठोस र मूर्त योजना बनाई कार्यान्वयन गर्ने ।’
अध्यक्ष ओलीले मंसिर ४ मा हुन गइरहेको निर्वाचनमा पार्टीको पक्षमा जनमत ल्याउने वातावरण बनाउन पनि निर्देशन दिए । केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले एमालेको पक्षमा जनमत आउने वातावरण बनाउने जिम्मेवारी पार्टीका नेता, कार्यकर्ताहरूको काँधमा रहेको बताएका थिए ।
बहुमतका लागि करिब १६ प्रतिशत मत अपुग रहेको भन्दै ओलीले यसलाई वृद्धि गर्न ठोस योजना साथ अगाडि बढ्नुपर्ने प्रतिवेदनमा उल्लेख गरेका छन् । अन्नपूर्ण पोस्टबाट