
रामेछाप–१० भदौ– दुवै आँखा देख्न छाडेको १५ वर्ष भयो तर सात छोरीको लालन पालनको दायित्व उनकै काँधमा छ ।
त्यो पनि उनले करिब करिब पारलाएकी छन् । उनमा फेरि आफ्नै आँखाले संसार देख्ने धोको छ। रामेछाप जिल्लाको मन्थली नगरपालिका–९, पुराना गाउँकी ४० वर्षीया चमेली मगरका दुवै आँखा बन्द छन् ।
यस्तैमा पतिको पनि निधन भएपछि आठमध्ये सात छोरीको लालन पालन र पठन पाठनको जिम्मा उनकै काँधमा आएको हो । चमेलीका आठ छोरीमध्ये जेठीको मात्र विवाह भएको छ । जुम्ल्याहा माइली र साइँली १२ कक्षामा पढ्छन् । काइँली ८ मा, ठाइँली ६ मा, अन्तरी ५ मा, जन्तरी ३ मा र कान्छी १ कक्षामा अध्ययनरत छिन् ।
यी सबैको जिम्मेवारीले उनलाई थिचेको छ । चमेलीका आँखामा सानै उमेरदेखि धमिलो देख्ने र टाढाको वस्तु नदेख्ने समस्या थियो तर १५ वर्षअघि चौथो छोरी जन्मिएपछि भने चमेलीका दुवै आँखाका ज्योति पूरै गुमे ।आँखा बन्द भएपछि पनि सन्तान जन्मिने क्रम भने रोकिएन । उनका थप चार छोरी जन्मिए ।
चमेलीका श्रीमान् अम्बरबहादुर ठाडामगरले उपचारका लागि बुँताले भ्याएसम्म गरे । थाहा पाएसम्मका अस्पताल घुमाए । ठाउँठाउँमा सञ्चालन हुने आँखा शिविरमा पनि पु–याए तर काम लागेन । उनको आँखाको ज्योति फर्किएन ।
यस्तैमा चमेलीको जीवनमा अर्को बज्रपात आई लाग्यो । जीवनको सहारा पतिलाई पनि उनले गुमाइन् । श्रीमान् पनि गुमाएपछि संसारदेख्ने उनको इच्छा हरायो । साना छोरीलाई कसरी हुर्काउने भन्ने चिन्ता थपियो । यो गोरखापत्र दैनिकबाट