काठमाण्डु, २५ साउन– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पाँच दिने जापान भ्रमण सकेर बुधबार स्वदेश फर्किएका छन् ।
प्रचण्ड गत शुक्रबार राति पार्टी सम्वद्ध जनप्रगतिशील मञ्चको निमन्त्रणामा टोकियो प्रस्थान गरेका थिए । स्वदेश फर्किएपछि अन्तार्रष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग उनले आफ्नो भ्रमण नेपाल–जापान सम्बन्ध थप बलियो बनाउन फलदायी भएको बताए ।
सञ्चारकर्मीको एक जिज्ञाशामा उनले राष्ट्रपतिले नागरिकता विधेयक रोकेकामा असन्तुष्टि जनाए । यद्यपि अझै पनि राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्ने विश्वास उनको थियो । ‘राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण गर्न ढिला नहुनु पर्थ्यो,’ उनले भने ।
सञ्चारकर्मीले निकट भविष्यमै चीन भ्रमणमा जान लागेको बारे गरेको प्रश्नमा उनले मिति निश्चित भइनसकेको उल्लेख गरे ।