ओलीले उदघाटन गरेको एक वर्ष नाघ्यो, धरहरा चढ्न अझै ९ महिना लाग्ने

काठमाण्डु टुडे २०७८ चैत २२ गते ७:२७ मा प्रकाशित

काठमाण्डु, २२ चैत– धरहरा चढेर काठमाडौँ सहर नियाल्ने रहर पूरा गर्न नेपाली जनताले अझै नौ महिना कुर्नुपर्ने भएको छ । ऐतिहासिक धरहरा टावरको पुनर्निर्माण कार्य सकी उद्घाटन गरेको पनि एक वर्ष पुग्न लाग्दासम्म सर्वसाधारणले प्रयोग गर्न पाएका छैनन् ।

गत वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त टावरको उद्घाटन गरेका थिए । एक वर्षअघि उद्घाटन गरिएको भए पनि सर्वसाधारणले धरहरा चढ्नका लागि भने अझै नौ महिना कुर्नुपर्ने जनाइएको छ ।

उद्घाटनको समयमा धरहराको मात्रै पुनः निर्माण सम्पन्न भएको र अन्य धेरै काम बाँकी रहेकाले अझै प्रयोगमा आउन नसकेको हो ।

भूकम्प गएको तीन वर्षपछि मात्रै यस सम्पदाको पुनः निर्माणको कामले गति लिएको थियो । गोर्खा भूकम्पले ढलेको धरहरा पुनः निर्माणको सुरुआत २०७५ पुस १२ मा भएको हो ।  २०७२ को विनाशकारी भूकम्पबाट धरहरालगायत अन्य धेरै ऐतिहासिक सम्पदा ध्वस्त भएका थिए । अन्नपूर्ण पोस्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us