शनिबारदेखि हिमालयन हाइड्रो एक्स्पो हुने, ५० हजारले अवलोकन गर्ने

काठमाण्डु टुडे २०७८ चैत १७ गते १६:५५ मा प्रकाशित

काठमाडु, १७ चैत– हिमालयन हाइड्रो एक्स्पोको तेस्रो संस्करण आगामी १९ चैतदेखि काठमाण्डुको भृकुटीमण्डपमा हुने भएको छ ।

स्वतन्त्र उर्जा उत्पादक संघ नेपाल (इप्पान) को आयोजनामा हुने एक्स्पो तीन दिनसम्म चल्नेछ । एक्स्पोबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा इप्पान अध्यक्ष कृष्णप्रसाद आचार्यले एक्स्पोको राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गर्ने जानकारी दिए ।

एक्स्पोको पूर्वसन्ध्यामा शनिबार बिहान विद्युतीय सवारी साधनको ¥याली आयोजना गरिएको छ । भृकुटीमण्डपबाट सुरु हुने -याली नेपालकै पहिलो जलविद्युत आयोजना काभ्रेको फर्पिङसम्म पुगेर पुनः भृकुटीमण्डपमै आएर समापन हुनेछ । फर्पिङ जलविद्युत आयोजनामा पर्यटनमन्त्री प्रेम आलेले सहभागीहरुलाई स्वागत गर्नेछन् ।

५० हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको प्रर्दशनी नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपतमा वृद्धि गर्न र विदेशमा निर्यातको वातावरण बनाउने तथा हाइड्रो क्षेत्रले विकास गरेका संसारभरका नयाँ प्रविधिबारे सम्वद्ध पक्षलाई ज्ञान तथा सूचना सम्प्रेषण गर्ने अवसर हुने आचार्यले बताए ।

‘एक्स्पो अवधिभर प्रत्येक दिन हाइड्रो पावर सम्बन्धी विषयगत ६ वटा भन्दा बढी टेक्निकल सेसन सञ्चालन तथा अन्तरक्रिया तय गरेका छौँ’, आचार्यले भने ।

एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंकरवित्त कम्पनीले सयभन्दा बढी स्टल बुकिङ गरेका छन । प्रर्दशनीमा चीन, भारत, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिललगायत देशका कम्पनी तथा सरोकारवालाहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रर्दशनीमा नयाँ प्रविधिका साथै हाइड्रो पावरमा रोबोटर्सको भूमिकाबारे जानकारी गराइनेछ भने विश्वकै पहिलो हाइड्रोपावर रोबोटिक कम्पिटिशन हाइड्रोकन २० मा हाइड्रोपावरमा काम लाग्ने रोबोटहरुका साथै टनेल चेकिङ र इन्स्पेक्शन जस्ता काममा समेत सहायता प्रदान गर्ने रोबोटहरुको प्रतिष्पर्धा एक्स्पोमा हुनेछ । एक्स्पोमा जलविद्युत प्रवद्र्धक, उत्पादक, लगानीकर्ता, सप्लायर्स, बैंक, बीमा, जलविद्युतमा नयाँ प्रविधि तथा निर्माण सामग्रीका सप्लायर्ससँग सम्बन्धित एक सयभन्दा बढी स्टल राखिने इप्पान जनाएको छ ।

उनले एक्स्पोको मुख्य उद्देश्य नेपालमा उत्पादित जलविद्युतको बजारीकरण गर्नु रहेको औंल्याए । आचार्यले नेपालमा हाइड्रोपावरको इतिहास एक शताब्दीको भए पनि ०४८ सालपछि निजी क्षेत्रको प्रवेशका कारण सो क्षेत्रले फड्को मारेको बताए ।

उनले १० वर्षमा १५ हजार मेगावाट जलविद्युत उत्पादनको सरकारी घोषणा कार्यान्वयनको सम्भावना देखिएको भन्दै निजी क्षेत्र त्यसबाट उत्साहित भएको उल्लेख गरे । बैंक तथा बित्तिय संस्थाहरुले जलविद्युतमा उदारतापूर्वक लगानी गरेकामा आचार्यले धन्यवाद दिए । उत्पादनको समस्या हटे पनि देशभित्र ऊर्जाको प्रयोग बढाउने तथा बाहिर निर्यात बढाउने चुनौती रहेको औंल्याए । आचार्यले प्रधानमन्त्री शेरबहादुर देउवालाई शुक्रबारबाट सुरु हुने औपचारिक भारत भ्रमणका क्रममा ऊर्जा व्यापारलाई प्राथमिकताका साथ उठान आग्रह गरे ।

प्रर्दशनीको मुख्य प्रायोजक एनएमबी बैंक लिमिटेड रहेको छ भने आइएफसीलगायतका संघ संस्थाहरुले प्रायोजन गरेका छन । एक्स्पोमा नेपालस्थित भारतीय राजदुतावासको समन्वय तथा वेलायती राजदुतावास र क्यानेडियन हाइ कमिशन कन्ट्री पार्टनर छन । नेपाल विद्युत प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स एसोसिएसन र नेपाल निर्माण व्यवसायी महासंघले पनि प्रर्दशनीलाई सहयोग गर्ने जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us