
काठमाण्डु, २ चैत– नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
भारतीय आयल कर्पोरेसन (आइओसी) ले नयाँ मूल्य सूची पठाएको भन्दै निगमले बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर समान ५ रुपैयाँका दरले बढाइएको निगम सह–प्रवक्ता पुस्कार कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
योसँगै काठमाण्डु उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५५ रुपैयाँ पुगेको छ । यस्तै डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १ सय ३८ पुगेको छ । यस्तै आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १५ रुपैयाँ तथा वाह्य हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर २ सय अमेरिकी डलर कायम गरिएको छ ।
निगमका अनुसार खाना पकाउने एलपी ग्यासको मूल्य भने हालका लागि यथावत राखिएको छ ।