मेलम्चीको पानी चैतमा आउने

काठमाण्डु टुडे २०७८ फागुन २७ गते ७:५६ मा प्रकाशित

काठमाण्डु, २७ फागुन– आउँदो चैतमा मेलम्चीको पानी काठमाडौँमा पु–याइने भएको छ । वैकल्पिक पथान्तरण प्रणालीमार्फत चैतमा पानी पठाउने गरी काम भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

हेडवक्र्स र सुरुङ सफाइको काम अन्तिम चरणमा पुगेकाले चैतमा पानी पठाउन सकिने समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो । हाल बाढीले जम्मा गरेको गेग्य्रान हटाउने र भत्किएका संरचनाको निर्माण कार्य भइरहेको छ । गत असार १ गतेको मेलम्ची खोलाको बाढीबाट हेडवक्र्स, अडिट सुरुङ पुरिनुका साथै सडक र पुललगायतका भौतिक संरचनाहरू भत्किएका थिए ।

प्रवक्ता पन्तले भने, “हेडवक्र्स र सुरुङ सफाइको काम अन्तिम–अन्तिम भएको छ, पानी पथान्तरणको वैकल्पिक माध्यमबाट चैतमा पानी ल्याउने योजनाका साथ काम भएको छ, चैतमा पानी ल्याउन सक्छौँ भन्ने नै छ ।” सुरुङको गेग्य्रान हटाउने काम भइरहेको सिनियर डिभिजनल इन्जिनियर पदम कुँवरले जानकारी दिएका छन् ।

उनका अनुसार बाढीले ल्याएका ठूला ढुङ्गाहरू नेपाली सेनाको सहयोगमा ब्लास्टिङ गर्ने काम भइरहेको छ । उनले भने, अझै एक साता ब्लास्टिङ गर्न लाग्छ, गेग्य्रान पन्छाउने काम ६५ प्रतिशत सम्पन्न भएको छ, अब एक सातामा गेग्य्रान हटाउने काम सम्पन्न हुन्छ ।” गोरखापत्रबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us