काठमाण्डु, ३ असार– एमाले अध्यक्ष झलनाथ खनालले पार्टीको आसन्न नवौं महाधिवेशनबाट आफू पनि अध्यक्ष पदको दाबेदार रहेको बताएका छन् ।

महाधिवेशन मुल व्यवस्थापन समतिले मुख्यालय बल्खुमा मंगलबार गरेको नियमित पत्रकार भेटघाटमा उनले आफूमा अध्यक्ष बन्ने उत्कट चाहना रहेको बताए । महाधिवेशनले सर्वसम्मत नेतृत्व चुन्ने र आफू पुन: अध्यक्ष हुने दाबी उनको थियो ।
फेरि अध्यक्ष हुने मनसाय छ कि छैन, अध्यक्षका दुवै प्रत्यासीले तपाईंको नाम अघि सारेको अवस्थामा के गर्नुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा खनालले भने, ‘म मा फेरि अध्यक्ष हुने उत्कट चाहना छ’, उहाँहरु (माधव नेपाल र केपी ओली) ले प्रस्ताव गर्नुभयो भने दुई हात उचालेर समर्थन गर्छु ।’
उनले महाधिवेशनमा सहमतिबाट नेतृत्व चयनको आवश्यकता रहेको भन्दै पार्टी एकतालाई केन्द्रबिन्दुमा राखेर तल्लो स्तरको गालीगलौजमा नउत्रन आग्रह गरे । उनले संयमता, धैर्यता र आत्मियताका साथ प्रतिस्पर्धामा उत्रन अपिल गरे ।
अर्को एक फरक प्रसंगमा खनालले महाधिवेशनमा राज्य शक्तिको दुरुपयोग नहुने दाबी गरे । सरकारमा सहभागी मन्त्रीहरुले राज्य शक्तिको दुरुपयोग गरेको पुष्टि भए कारबाही गर्ने खनालले बताए । पत्रकार सम्मेलनमा विद्युतीय भोटिङ मेशिनबाट नमुना मतदान गरिएको थियो ।