सरकारी रेडियोले नै पत्रकारको श्रम शोषण गरेको खुलासा

काठमाण्डु टुडे २०७१ असार ३ गते १०:०४ मा प्रकाशित

काठमाण्डु, ३ असार– नेपाल पत्रकार महासंघले काठमाण्डु महानगरपालिकाद्वारा सञ्चालित मेट्रो एफएम ९४.६ मेगाहर्जमा कार्यरत २२ जना श्रमजीवी पत्रकारलाई १२ metro fmवर्षदेखि करारमा काम गराउँदै आएको भन्दै आपत्ति जनाएको छ ।
महासंघका महासचिव उजरी मगरद्वारा मंगलबार जारी गरिएको विज्ञप्तिमा श्रमजिवी पत्रकार ऐन लागू भएको दुई दशक बित्दासमेत सरकारी स्वामित्वको सञ्चार माध्यमले लामो समयसम्म करारमा काम गराउनु कानुनीराजको गम्भीर उल्लंघन भएको उल्लेख छ ।

महासंघले त्यहाँ कार्यरत पत्रकारलाई तत्काल श्रमजिवी पत्रकार ऐनअनुसारको सुविधा उपलब्ध गराई स्थायी गर्न माग गरेको छ ।
‘श्रमजीवी पत्रकार ऐन लागू भएको दुई दशक बितिसक्दा समेत सरकारी स्वामित्वमा रहेको सञ्चारगृहले त्यहाँ कार्यरत श्रमजिवी पत्रकारहरूलाई ऐनअनुसार स्थायी नगरिनु राज्यद्वारा नै कानुनीराजको गम्भीर उल्लघंन गरेको ठहर्छ’, विज्ञप्तिमा भनिएको छ’, ‘अत: श्रमजिवी पत्रकारहरूलाई तत्काल ऐनअनुसारको सुविधा उपलब्ध गराई स्थायी गर्न सम्बन्धित निकाय समक्ष महासंघ आग्रह गर्दछ ।’
श्रमजीवी पत्रकारहरूको श्रमलाई अवमूल्यन गर्ने गरी ऐन कार्यान्वयन नगरिए त्यसबाट उत्पन्न हुने घट्नाक्रमको जिम्मेवार सम्बन्धित निकाय हुने चेतावनी महासंघको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us