
दाङ, २ असार – एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकारकै कारण जनताले भनिएको मितिमा संबिधान नपाउने आशंका बढ्दै गएको बताएका छन् ।
रिपोटर्स क्लब नेपाल दाङ शाखाले सोमबार तुलसीपुरमा आयोजना गरेको विषेश साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठले सरकार कछुवा गतिमा चल्दा अन्यौंलको स्थिति सृजना भएको जनाएका छन् ।
सत्तासिन दलहरुको मनोमानीका कारण दलहरुका बिचमा दुरी बढ्नेक्रम अन्त्य हुन नसकेको प्रष्ट पारे ।
उनले भने, ‘राष्ट्रिय सहमतिको आधारमा निर्धारित मिति मै संबिधान जारी गर्ने दिशामा आफ्नो पार्टी दृढ रहेपनि सत्तासिनहरुकै कारण २६ सभासद मनोनित गर्ने कार्यले पूर्णता नपाएको हो ’ ।
उनले सरकारका बारेमा सकारात्मक दृष्टिकोण जनतामा नभएको र जनतालाई चित्त बुझाउन सरकार असक्षम रहेको बताए ।
नेता श्रेष्ठको कथन थियो ‘काँग्रेस र एमालेकै कारण राजनीतिक पार्टी हुँ र दलको नेता हुँ भनेर हिड्नसम्म लाजलाग्ने अवस्था उत्पन्न भैसक्यो’ । आफुहरुको कारणले भन्दा पनि सरकारमा सहभागी दलहरुकै दिशाहिनताका कारण जनताले राज्य र सरकारको अनुभूति गर्न नपाएको उनको जोड थियो ।
एक फरक प्रशंगमा नेता श्रेष्ठले ५ माओ निकट पार्टीहरुको एकीकरण संभव नभएको बताए । उनले हाल कार्यगत एकता गरेर साझा मञ्च बनाउन मात्रै खोजिएको जानकारी दिए ।
साक्षात्कार कार्यक्रममा बोल्दै नेता श्रेष्ठले असार ७ गते नै ५ माओ निकटका पार्टी बिच एकीकरण संभव नरहेको बरु हाल कार्यगत एकता गरेर संघर्षका कार्यक्रम अघि बढाईने उनले प्रष्ट पारे ।
‘त्यसका लागि साझा प्रयत्न भैरहेको हो ।’ नेता श्रेष्ठले पत्रकारको जिज्ञासामा भने ‘पार्टीमा वर्गीय विचलन आएकोले पार्टी भित्रै आन्तरिक रुपान्तरण पहिलो मुद्धा बन्नुपर्छ ।’