
जनकपुरधाम, २ असार – एमाले नेता माधवकुमार नेपालले पार्टीभित्र आफूलाई सुपर डन ठान्नेहरुलाई आगामी महाधिवेशनबाट पाखा लगाउनु पर्ने बताएका छन् ।
प्रेस चौतारी नेपाल धनुषाद्वारा जनकपुरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले भने – सुपर डन ठानेर गल्ती गर्ने व्यक्तिहरु पाखा लाग्नेछन् ।
नेता नेपालले युवा तथा पुराना पुस्ताले मलाई अध्यक्षमा उठ्न आग्रह गरेकाले आफूले अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको खुलासा गर्दै उनले लोकतन्त्रमा प्रतिस्पर्धा आवश्यक भएकाले आफू स्वस्थ प्रतिस्पर्धाको पक्षमा रहेको प्रष्ट पारे ।
उनले एमालेभित्र सिन्डिकेट प्रणाली हावी भएका कारण पार्टीको भविष्य चौपट हुन लागेकोमा शंका व्यक्त गरे ।
उनले भने – २०३३ र २०४६ सालको पुस्तालाई पार्टीको जिम्मेवारी दिनुपर्छ भन्ने मेरो मान्यता हो र २०३६ सालको पुस्तालाई पार्टीभित्रका सबै नेताले मान्छन् भने म पनि पद छाड्न तयार छु ।
सोही अवसरमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले वर्तमान सरकारले आगामी बजेटमा कृषि, ऊर्जा, पर्यटन, पूर्वाधार र मानव संसाधन विकासलाई प्राथमिकतामा राखिनुपर्नेमा जोड दिए ।
कार्यक्रम प्रेस चौतारी नेपाल धनुषाका संयोजक धर्मेन्द्रकुमार झाको सभापतित्वमा भएको थियो ।