
काठमाण्डु, १ असार – नेपाल विद्यार्थी संघले आउदो बजेटमा युवा वर्गमा उद्यमशिलता बढाउने कार्यक्रम ल्याउन माग गरेको छ । संघले आइतबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गोविन्द पोखरेललाई ज्ञापन पत्र बुझाएको हो ।
बजेटमा युवाहरुको सिपलाई प्रवद्र्धन गरी स्वदेशमै रोजगारको अवस्था सृजना हुने गरी कार्यक्रम ल्याउन आयोगलाई ध्यानाकर्षण गराइएको नेविसंघका प्रवक्ता यूपी लामिछानेले बताए ।
संघले युवाहरुलाई विदेश पलायनबाट रोक्न स्वदेशमै स्वरोजगारका लागि सरकारले हरेक वर्ष १ लाख युवालाई ५ लाख रुपैयाँ बिना धित्तो ऋण उपलब्ध गराउनुपर्ने माग गरेको छ ।
ज्ञापन पत्र बुझ्दै आयोगका उपाध्यक्ष डा पोखरेलले युवाहरुलाई स्वदेशमै रोजगारीको विषय र माग अत्यन्तै महत्वपूर्ण भएको बताएका थिए ।
उनले युवालाई संलग्न नगराई मुलुकमा आर्थिक क्रान्ति सम्भव नहुने भएकाले संघको माग तर्फ आफू सकारात्मक रहेको प्रतिक्रिया दिए ।
उनले युवा वर्गबाट आएको जायज मागलाई प्रधानमन्त्री र अर्थमन्त्रीसँग परामर्श गरेर बजेटमा सम्बोधनको प्रयास गर्ने बताएको लामिछानेले जानकारी दिए ।