जाजरकोटमा बस दुर्घटनाः पाँचको मृत्यु, २७ घाइते

काठमाण्डु टुडे २०७८ मंसिर १२ गते १०:३१ मा प्रकाशित

तस्बिर सामाजिक सन्जालबाट

जाजरकोट, १२ मंसिर– जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्।

नेपालगन्जबाट जाजरकोटको राडिबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्रिबस जाजरकोठको कुदु बराहचौक नजिक दुर्घटना भएको जाजरकोट प्रहरीले जनाएको छ।

बस सडकभन्दा करिब १ सय ५० मिटर तल खसेको जाजरकोटका डीएसपी मधुकुमार थापाले जानकारी दिए। बसमा ३२ यात्रु रहेको उनको भनाइ छ।

मृत्यु भएकाहरुको सनाखत भएको छ। जाजरकोट प्रहरीका अनुसार मृत्यु हुनेमा जाजरकोटको नलगाड नगरपालिका–१० का शेरबहादुर परियार, कुशे गाउँपालिका–९ की १८ वर्षीया अनिला नेपाली, रुकुम पश्चिमको आठविसकोट नगरपालिका–५ की २४ वर्षीय सन्ध्या मल्ल शाही, उनकी चार वर्षीय छोरी दिव्या शाही र सप्तरीका ४० वर्षीया गंगाराम यादव रहेका छन्।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी मधुकुमार थापाका अनुसार दुर्घटनामा २८ जना घाइते भएका छन् ।

घाइते मध्ये तीन जनाएको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गर्ने तयारी भैरहेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us