दल विशेषलाई जिताउने र हराउने षडयन्त्र भएको थिएन : गुरुङ
काठमाण्डु, ३१ जेठ– निर्वाचय आयुक्त दोलखबहादुर गुरुङले गत ४ मंसिरमा सम्पन्न संविधानसभा निार्वचनमा निर्वाचन आयोगले कुनै दल विशेषलाई जिताउने र हराउने षड्यन्त्र नगरेको बताएका छन् ।
जिल्ला निर्वाचन कार्यालय काठमाण्डुले आगामी असार ८ गते हुने काठमाण्डु–२ को निर्वाचनमा प्रयोग हुने विद्युतीय मतदान यन्त्रका बारेमा मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिन शनिबार गरेको कार्यक्रममा उनले आयोगले षड्यन्त्र नगरेको बताएका हुन् ।
‘निर्वाचनलाई स्वच्छ, निष्पक्ष, धाँधलीरहित रुपमा सम्पन्न गराउनु नै आयोगको एकमात्र मन्त्र थियो र रहन्छ पनि’, गुरुङले भने, ‘यसैलाई अर्जुनदृष्टि बनाइ आयोगले आफ्नो दायित्व पूरा गर्यो, यसमा षडयन्त्रको गन्ध देख्नु आफैंमा दूराग्रह आँखा हो ।’
कार्यक्रममा निर्वाचन आयोगका सचिव मधु रेग्मीले विगतका कमी कमजोरी सच्याउँदै निर्वाचनलाई अझ विश्वसनीय र सर्वस्वीकार्य बनाउन मतदानमा विद्युतीय मतदान यन्त्र प्रयोग गर्न लागिएको बताए । काठमाण्डु–२ का प्रमुख निर्वाचन अधिकृत अच्यूत विष्टले निर्वाचनलाई कहीं कतैबाट खोट लाग्न नदिन निर्वाचनमा खटिने मतदान अधिकृतको प्रमुख दायित्व हुने हुँदा यसतर्फ चनाखो रही कार्यसम्पादन गर्न आग्रह गरे ।
काठमाण्डुका प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतमले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित रुपमा सम्पन्न गर्न सबै सुरक्षाको प्रबन्ध मिलाइ सकिएको जानकारी दिँदै मतदानको दिन बाह्यभन्दा आन्तरिक रुपमा समस्या आउने हुँदा यसतर्फ मतदान अधिकृत विशेष सजग हुनुपर्ने बताए ।
काठमाण्डु–२ मा ३९ मतदानस्थलमा ९० मतदान केन्द्र रहेका छन् । निर्वाचनमा ६७ हजार ७४५ मतदाताले विद्युतीय मतदान यन्त्रका माध्यमद्वारा मतदान गर्नेछन् । ती मतदान केन्द्रमा ४४७ जना मतदान अधिकृत तथा सहायक मतदान अधिकृत र अन्य कर्मचारी परिचालन हुँदैछन् ।