बलात्कारी छिमेकी फरार

काठमाण्डु टुडे २०७१ जेठ २९ गते ७:१३ मा प्रकाशित

राजविराज, २९ जेठ – सप्तरीमा एक युवक आफ्नै छिमेकी नौ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएका छन् ।

तिलाठी गाविस–७ का २१ वर्षीय राजीव झाले बालिकालाई जबरजस्ती नियन्त्रणमा लिएर बलात्कार गरी फरार भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

आफन्तको घरबाट विवाहमा उपस्थित भई फर्कंदै गरेकी पीडितलाई सोमबार बिहान ५ बजे एक्लै देखेर डरधाक, धम्की देखाई आँपको बगैँचामा लगेर बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्गलबार उजुरी दिएका छन् ।

उजुरीका आधारमा आज मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । पीडितको गत मङ्गलबार राजविराजस्थित अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको अस्पतालले जनाएको छ ।

घटनापछि फरार आरोपीको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक खेमनारायण चौधरीले जानकारी दिएका छन् ।

विगत ११ महिनाको अवधिमा सप्तरीमा भएका बलात्कारका घटनामध्ये २४ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us