डडेलधुरा, २८ जेठ – नवौं महाधिवेशन नजिकिंदै गर्दा एमाले डडेलधुराले संसदीय दलका केपी ओली पक्षधर ६ नेतालाई कारबाही गरेको छ ।
पार्टीको जिल्ला अधिवेशनमा असहयोग गरेको आरोपमा जिल्ला कमिटी सचिवालयले ६ जना जिल्ला नेतालाई कारबाही गरेको हो ।

सातौं जिल्ला अधिवेशनअन्तर्गत गत जेठ १७ गते भएको बन्दशत्रमा अध्यक्ष पदका उम्मेदवार रहेका ओली पक्षधर प्रकाश साउदलाई मतदान गरेको आरोपमा संस्थान पक्षले उनीहरुलाई कारबाही गरेको हो । निर्वाचनमा माधव नेपाल पक्षका डा. तारा जोशी अध्यक्षमा निर्वाचित भएका थिए ।
कारबाहीमा पर्नेमा जिल्ला कमिटीका पूर्वसदस्य नरेन्द्र शाही, अमर पुन, अनेरास्ववियु जिल्ला अध्यक्ष भरत मल्ल, संगठित सदस्य तिलक शाही, अखिल नेपाल किसान महासंघका जिल्ला सचिव गणेश बुढाऐर, नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला सदस्य नरसिंह मल्ल छन् ।
उनीहरु सबैलाई साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरिएको छ । कारबाही पर्नेमध्येका नरेन्द्र शाहीले आफूहरुमाथि गुटगत पूर्वाग्रहका आधारमा कारबाही गरिएको आरोप लगाए ।