जुम्ला, २८ जेठ – जुम्ला जिल्लालाई धुवाँमुक्त जिल्लाका रुपमा घोषणा गर्ने हेतुले यसपटक सुधारिएको चुल्हो वितरणका लागि जिल्लाका आठ गाविस छनोट गरिएको छ ।
नमुना गाविस स्वरुप जिल्लाका कार्तिकस्वामी, तलिउम, कुडारी, रारालिही, हाँकु, तातोपानी, लाम्रा र ताम्तीलाई छनोट गरिएको हो ।
छनोट गरिएका गाविसका जनतालाई ५० प्रतिशत अनुदान दिएर दुइमुखे चुल्होका लागि रु तीन हजार र तीन मुखे चुल्होका लागि रु चार हजार मूल्यमा वितरण गरिने जिल्ला ऊर्जा तथा वातावरण शाखा जुम्लाका ऊर्जा विकास अधिकृत विन्दा तामाङले बताइन् ।
अधिकृत तामाङका अनुसार आठ वटा गाविसका लागि करिब एक हजार चुल्हो वितरण गर्ने लक्ष्य रहेको छ । जसबाट करिब रु ३० देखि ३५ लाख बराबरको लगानी गर्न लागिएको हो ।
यसअघि पनि जिल्लाका विभिन्न गाविसमा गैरसरकारी सङ्घ संस्थाको आर्थिक सहयोगमा निर्माणको जिम्मा लिएको कर्णाली मेटल वर्कसप जुम्लाले सुधारिएको चुल्हो वितरण गरेको थियो ।
विशेषगरी गृहिणीहरु बढी चुल्होमा बस्ने र धुवाँ धुलोले उनीहरुमा विभिन्न खाले रोग लाग्नुका साथै बालबालिकामा पनि यसले असर पार्ने भएकाले उनीहरुको सो समस्याको न्यूनीकरण गर्नका लागि पनि सुधारिएको चुल्हो कार्यक्रम ल्याइएको जिल्ला ऊर्जा तथा वातावरण शाखा जुम्लाले जनाएको छ ।
चुल्हो प्राइभेटमा किन्दा रु छ हजारदेखि आठ हजार पर्दछ । तसर्थ ५० प्रतिशत अनुदानमा चुल्हो लिनका लागि लक्षित गाविसका जनतालाई ऊर्जा शाखा जुम्लाले सूचना गरेको छ । त्यसका लागि आवश्यक कागजात, सम्बन्धित घरधनी हुनुपर्ने उल्लेख छ । वैकल्पिक ऊर्जाले पनि यसअघि ७६४ वटा सुधारिएको चुल्हो वितरण गरिसकेको छ । रासस